Sunday, September 25, 2011

मानिस किन गरिब हुन्छ भनेर अचम्म लाग्छ

अश्विनी कोइराला


२०४६ सालमा विराटनगरको एउटा युवक स्नातक तह अध्ययन गर्दागर्दै व्यापार गर्न काठमाडौं उक्लिएको थियो । विशेष गरी बाहिरका मानिस कि त जागिर खान काठमाडौं आइपुग्छन्, कि त अध्ययन गर्न,  तर ती युवकले काठमाडौंमा व्यापारको ठूलो स्कोप देखेका थिए । यद्यपि बाहिरका मानिसले एकैपटक पैसा लगाएर व्यापार गर्दा धेरै जोखिम उठाउनुपर्ने कुरा उनले सोचेका पनि थिएनन् । बुबासँग ५० हजार  रुपैयाँ लिएर आएका चन्द्रशेखरको उक्त रकम केही वर्षमै

डुब्यो । यसबीच उनले होलसेलको काम गरे, जग्गा-जमिन नाप्दै हिँडे, तर पनि आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकेनन् । १० वर्षअघि भने  उनले एक जना साथीसँग मिलेर अनौठो व्यापार सुरु गरे, बंगुरपालन । जब उनीहरूले बंगुरपालन सुरु गरे, बंगुर फार्मले दिन दुईगुना-रात चौगुना प्रगति गर्न थाल्यो । चन्द्रशेखर अहिले नेपालका सबैभन्दा  ठूला बंगुरपालक किसान हुन्। बंगुर पालेरै उनले काठमाडौंको तीनकुनेमा आकर्षक घर बनाएका छन् । उनका ब्राह्मण बुबा बिहान पूजापाठमा मस्त हुँदा उनी नयाँ टाटा इन्डिका गाडी चढेर भक्तपुरस्थित  आफ्नो कृषि र्फममा पुगिसक्छन् । व्यावसायिक मित्र पवन पाण्डेसँग मिलेर बंगुर पालेरै वर्षको ५२ लाख खुद नाफा कमाउने उनीहरू  भन्न थालेका छन्, ँमानिसहरू किन गरिब हुन्छन् भनेर हामीलाई अचम्म  लाग्छ ।’

नेपालीहरू कृषि र पशुपालनले जीवन सम्पन्न हुन सक्दैन भनेर ठोकुवा गर्छन्, तपाईं भने बंगुर पालेरै लाखौं कमाएको दाबी गर्नुहुन्छ, कसरी सम्भव छ ?

सम्भव नभए मैले कसरी गरें त ? संसारमा गर्छु भनेर लागेपछि असम्भव केही पनि हुँदैन। जुनसुकै काम मेहनत र इमान्दारिताका साथ गर्ने हो भने मान्छेले सफलता पाउन सक्छ। बंगुरकै उदाहरण लिनुस् न।  तपाईं बंगुरलाई ६० रुपैयाँको दाना ख्वाउनुहोस्, १ सय ७५ रुपैयाँको मासु बढ्छ। अर्थात तीन किलो दाना बराबर १ किलो मासु। ६० रुपैयाँ लगाएर १ सय ७५ रुपैयाँ कमाउने कुनै व्यवसाय छ ?

त्यसो भए मानिसले किन कृषि व्यवसायप्रति नाक खुम्च्याएका होलान्

पहिलो त व्यावसायिक नभएर नै हो। दोस्रो व्यावसायिक हुन खोज्दा पनि उचित ज्ञान नभएर हो। सुरु-सुरुमा मैले पनि पटक-पटक गरेर १५ लाख घाटा खाएँ, तर हरेस खाइनँ। मानिसले दुई-चार वर्षमा पेसा  परिवर्तन गर्छ, त्यो नै घातक हो। बल्ल-बल्ल सिकेको कुरा अर्को पेसामा गएपछि त्यो ज्ञान काम लाग्दैन। कुनै काम सुरु गरेपछि त्यसलाई पार लगाएरै छाड्नुपर्छ।

तपाईंका बुबा अहिले पनि पूजा-पाठ गरिहिँड्नुहुन्छ, तपाईं भने बंगुर पालक, अचम्म लाग्दैन

युरोप-अमेरिकाबाट नेपाल आएका कुइरेहरूलाई हामी सम्मान गर्छौ, किन ? उनीहरू गाई खान्छन्, जुन हामी कल्पना पनि गर्न सक्दैनौ। हामी उनीहरूलाई सम्मान गर्छौं, किनभने उनीहरू सम्पन्न छन्,  व्यावसायिक छन्। यदि म बंगुर पालेर असफल भएको भए मेरो कुरा पनि काटिन्थ्यो होला, तर सफल भएका कारण मेरो पौरखको चर्चा हुन्छ। संसार नै यस्तो छ, सफल हुनुहोस्, नाम कमाउनुहुन्छ, असफल  हुनुहोस्, कुरा काटिन्छ।

व्यवसाय गर्ने धेरै क्षेत्रमध्ये बंगुरपालनलाई नै  किन रोज्नुभयो

मेरा हजुरबुबा खोटाङ जिल्लाका कहलिएका शुद्ध बाहुन। आफ्नो पालो नआई उहाँले खेतमा पानी लगाउनुभएछ। त्यसबेलाका जिम्वालले नियम मिचेको भन्दै हजुरबुबालाई सुँगुरको खोरमा थुनेछन्। यो एउटा  घटना आगोझैं पहाडभरि सल्कियो। सुनपानी छर्किएर, जनै फेरेर शुद्ध हुँदा पनि उहाँको खिसीटिउरी हुन छाडेन। उक्त घटनाले मलाई बंगुरप्रति ठूलो घृणा जागेको थियो, तर जुन कुरा मनमा गढ्छ, त्यो कुनै न  कुनै रूपमा प्रकट हुन्छ। अहिले भएको त्यही हो।

तैपनि सिधै बंगुर व्यवसाय नै गर्ने योजना बनाउन त गाह्रै हुन्छ, न त यो तपाईंको क्षेत्र थियो न कुनै अध्ययन

काठमाडौंमा व्यापार गर्न आएको मानिस, सबैजसो व्यवसायमा असफल हुन थालेपछि मैले नयाँ काम गर्नुपर्छ भन्ने योजना बनाएँ। त्यसबेला बँदेलको मासु निकै महँगो थियो। मैले बँदेल पाल्ने योजना बनाएँ,  तर त्यो सफल हुन सकेन। अनि बंगुरको मासुको माग जताततै। त्यसबेला नेपालमा ८ अर्ब रुपैयाँको मासु विदेशबाट आयात हुँदो रहेछ। नेपाल कृषिप्रधान देश, तर आठ अर्बको मासु विदेशबाट आयात हुने  कुरा मेरा लागि अनौठो थियो। त्यसैबेला मलाई लाग्यो, यो भन्दा सुरक्षित पेसा अरू हुन सक्दैन। अहिले १० वर्षपछि नेपालमा १६ अर्ब रुपैयाँको मासु विदेशबाट आयात भैरहेको छ। अलिकति पढेलेखेको  मानिसलाई यस्तो तथ्यांकले नयाँ बाटो खोलिदिन्छ। मलाई पनि यो तथ्यांकले ठूलो उर्जा दिएको हो।

नेपालमा एउटा व्यक्तिले कुनै पेसाबाट सफलता पायो भने मानिस त्यसकै पछि कुद्ने चलन छ, अहिले तपाईंले बंगुरपालनमा पाएको सफलतापछि धेरै युवा तपाईंको बाटोमा हिडेर असफल भए, कस्तो लाग्छ

एकपटक तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई मैले भनेको थिएँ, मैले भनेको बाटोमा सात वर्ष हिँड्नुहोस्, यो देशमा कोही पनि गरिब हुँदैनन्। सुन्दा मानिस हाँस्न सक्छन्, तर सत्य हो। कुनै पनि मानिसले  गम्भीर भएर ५-७ वर्ष काम गर्ने हो भने ऊ गरिब हुनै सक्दैन, तर मानिसहरू विज्ञको कुरा ध्यान दिएर सुन्दैनन्। सुने पनि त्यसअनुसार काम गर्दैनन्। काम नगरेपछि परिणाम आउँदैन। नेपालमा कृषिमा जस्तो  भविष्य अरू केहीमा पनि छैन। किनभने हामीसँग दुई विशाल मुलुकको बजार छ। अहिले हामी खाद्यान्न, फलफूल र मासु सबैमा विदेशप्रति निर्भर छौं। यस्तो अवस्थामा कृषिमा असफल हुनु भनेको नै हाँसउठ ्दो कुरा हो। गम्भीर अध्ययन, चिन्तत, मेहनत र विज्ञका कुरा सुन्ने हो भने असफल हुने सम्भावना नै छैन। मेहनत नगर्ने मानिस नै असफल हुन्छ र गरिब पनि।

सफलताको यो बिन्दुमा आएपछि तपाईंका योजना के-के छन्

म जुनसुकै कामबाट पनि मानिसले सफलता पाउन सक्छ भनेर सारा युवालाई देखाउन चाहन्छु। मानिसले बोलेर विश्वास गर्दैनन्, त्यसैले मैले बंगुरकै कमाइबाट काठमाडौंमा भव्य महल बनाउने योजना  बनाएको छु। एउटा डिपार्टमेन्टल स्टोर पनि खोल्छु। त्यति गरेपछि मानिस पैसा कमाउन गलत काम गर्नुपर्दो रहेनछ भनेर बुझ्न बाध्य हुन्छ। म अहिले नै महँगो मोटर चढ्न सक्छु, तर त्यो अनुत्पादक क्षेत्रमा  लगानी हुने भएकाले मात्र २० लाखको गाडी चढेको हुँ। अहिले हाम्रो र्फमको कमाइ वर्षको ५२ लाख छ, त्यसलाई वाषिर्क १ करोड बनाउँछु।

सरकारले कृषिक्षेत्रमा करोडौं लगानी गरेको छ तर त्यो बालुवामा पानी बगेसरह भएको छ, सरकारले तपाईंबाट केही सिकेन

म सरकारी अधिकारी जसलाई भेटे पनि आफ्नो कथा सुनाउँछु। उनीहरूले पनि सापकोटाजी तपाईंले राम्रो गर्नुभएको छ भन्छन्, तर मेरो कुरा सुन्दैनन्। अहिले पनि मेरो बंगुर र्फमलाई सरकारले बंगुरपालन  तालिम केन्द्र बनायो भने धेरै बंगुरपालकको हित हुन्छ तर खै, किन नसुनेका होलान् ?

Friday, September 9, 2011

आलुः रक्तचापका रोगीलाई लाभदायक

भाद्र २३ -
मोटोपनाले ग्रस्त आलुपे्रमीहरूका लागि खुसीको खबर । आलु खानाले रक्तचाप नियन्त्रण रहन्छ र यसले तौलसमेत नबढ्ने कुरो पछिल्लो अनुसन्धानले बाहिर ल्याएको छ । सामान्यतः आलु खानाले तौल बढ्ने आमधारणा छ ।


यसबारे अध्ययन दलको नेतृत्व गरिरहेका अमेरिकाको स्क्यारन्टन विश्वविद्यालयका जो. विसनका भन्छन्, 'आलुको नाम लिनासाथ हामी मोटोपना, बढी कार्बोहाइड्रेट र शून्य क्यालोरीबारे सोच्छौं । तर हाम्रो अनुसन्धानले आलुको पोषणसम्बद्ध छवि स्थापित गर्न सघाउनेछ ।' रक्तचापमा कमी हँुदा हृदयाघातको खतरा कम हुन्छ ।


यो अनुसन्धानमा सामेल महिला र पुरुषको समूहलाई गल्फको बल आकारको आलु ६ देखि आठ वटासम्म दिउँसो र रातिको खानामा सामान्य आहारको रूपमा लिन भनिएको थियो । सहभागीमध्ये धेरैजसो मोटोपना र उच्च रक्तचापको समस्याले ग्रस्त थिए ।


एक महिनापछि उनीहरूको रक्तचापमा कमी देखियो । कसैको तौलमा पनि वृद्घ िभएन । यसअघिको अनुसन्धानमा के पाइएको थियो भने रक्तचाप कम गर्ने औषधिको रसायन तत्त्वजस्तै आलुमा समेत पाइन्छ । आलुमा औषधिमा जस्तै केही वानस्पतिक रसायन पाइन्छ ।


प्रकाशित मिति: २०६८ भाद्र २४ ०९:४१

चम्किला फलफूल र तरकारी नछुनुस्

काठमाडौ, भाद्र २३ -
बजारमा बेच्न राखिएका तरकारी र फलफूल बढी नै हरियो, चम्किलो देखिएका सामान खरिद गर्दै हुनुहुन्न ? त्यसो गर्दै हुनुहुन्छ भने सावधान ।


मनै लोभ्याउने एकै नासको पहेंलो केरा, मेवा, अम्बा, आँप होऊन् या एकै नासले पहेलिएका भुइँकटहर अर्थात् आकर्षक रंगमा सजिएका फलफूल । किन्नु अगाडि एकपटक सोच्नुस्- 'यो आकर्षक रंग र ताजापन फलफूल र सागसब्जी नक्कली सिँगारिएका हुन सक्छन् ।'


तरकारी ताजा देखाउन र फलफूल छिटो पकाउन कृत्रिम रंगरोगन तथा रासायनिक ग्यासको व्यापक उपयोग भइरहेको छ । खेतबारीमा कीरा लाग्न नदिन प्रस्तावितभन्दा उच्च मात्रामा विषादीको प्रयोग र रासायनिक मलको अत्यधिक प्रयोगले समेत मानव स्वास्थ्यमा प्रतिकूल असर गर्दै छ ।


'फलफूल, तरकारीलाई आकर्षक बनाउन व्यापारीहरूले छिमेकी राष्ट्र भारतबाट अनेक नक्कली विधि सिकिरहेका छन,' काठमाडौंका एक  व्यापारी भन्छन्, 'नाफाका लागि जे पनि गर्न सकिने हालको प्रतिस्पर्धामा यो प्रक्रिया धेरै फैलिएको छ ।'


चिकित्सकहरू यस्ता प्रवृत्ति स्वास्थ्यका निम्ति खतराको सूचक ठान्छ्न् । 'कम उमेरका सकारात्मक जीवनशैली अपनाएका व्यक्तिलाई पनि मृगौलासम्बन्धी खराबी देखिन थालेको छ,' राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक डा.ऋषिकुमार काफ्ले भन्छन्, 'खाद्यपदार्थ, तरकारीलगायतका माध्यमबाट शरीरमा पुगेको विषाक्त पदार्थ मृगौला भएर निस्किन खोज्छ जसले समय अगावै यो अंगलाई नराम्रो क्षति पुर्‍याइरहेको छ ।'


उनका अनुसार, आममानिस खाद्यपदार्थ, सागसब्जीमा मिसावट, किटाणुनाशक, रासायनिक मलको अत्यधिक उपयोगले नजानीकनै आपनो शरीरमा विषाक्त पदार्थ सञ्चय गरिरहेका हुन्छन् जसको हरेक मुख्य अंगमा विस्तारै नराम्रो प्रभाव देखिन थाल्छ ।


विषादी उपयोग भएको फलफूल, सागसब्जीको उपयोगपछि शरीरको चिल्लो पदार्थमा अलिअलि जम्मा हुँदै जान्छ । 'यसरी जम्मा हुँदै गएको विषादीले क्यान्सर, कलेजो रोग, मृगौला रोग र मस्तिष्कमा असर पार्दै लान्छ र अन्तमा मृत्युसमेत हुने सम्भावना हुन्छ,' खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामा भन्छिन् ।


कृषि विशेषज्ञको प्रत्यक्ष निगरानीमा विषादीको प्रयोगसँगै कृषकहरूले विषादीमा कोरिएका विभिन्न रंगको नक्साअनुसार विषादी छरेको निश्चित दिनसम्म फलफूल, सागसब्जी आफ्नो उपयोगका लागि वा बजार पठाउनु हुँदैन । लामाका अनुसार विषादी छरेको तीनदेखि २१ दिनपछि मात्र फलफूल, सागसब्जी खान योग्य हुने गरेको छ ।


तर तरकारी व्यापारीहरू र किसानले यो नियम पालना गर्ने गरेका छैनन् । विषादी छरेलगत्तै समेत सागसब्जी बजार पठाउने गरिएको छ । 


गुण नियन्त्रण विभागले हालै गरेको 'टोटल डाइट स्टडी' अन्तर्गत मुलुकका विभिन्न भागबाट खाद्य पदार्थहरू ल्याई त्यसलाई परम्परागत तरिकाले पकाएपछि देखिएको विषादीको मात्राको अनुसन्धान गरेको छ । लामाका अनुसार यो अध्ययनमा मुलुकभरि धेरै प्रकारका विषादी प्रयोग गरिएको पाइएको छ । तर विषादीको मात्रा भने कम देखिए पनि विश्वमा प्रतिबन्धित रहेको केही विषादी अझै मुलुकमा उपयोग भइरहेको स्थिति भने भयावह छ ।


यति मात्र नभई लौका, फर्सीजस्ता सब्जीको आकार बढाउन आक्सिटोसिनको सियो प्रयोगले थप समस्या उत्पन्न गरेको छ । 'केही अघिसम्म यो समस्या भारतीय क्षेत्रमा देखिए पनि अब अन्य मुलुुकमा समेत देखिन थालेको छ,' कृषि मन्त्रालयका एक अधिकृतले भने, 'सँगै भारतबाट भित्रिने गरेका तरकारीमा यो समस्या छँदै छ ।' अक्सिटोसिन एउटा हार्मोनसम्बन्धी सियो हो जसको उपयोग पशुबाट बलजपmती बढी दूध निकाल्न गरिन्छ ।


विज्ञहरूका अनुसार सब्जीको आकार बढाउन र गाईभैंसीको दूध निकाल्न आक्सिटोसिनको उपयोग अत्यन्त घातक छ । यसको हानिकारक असर प्रत्यक्ष रूपमा प्रजनन्तन्त्रमा पर्ने गरेको छ ।


यस्तै फलफूल पकाउन कार्बाइडको प्रयोगले थप समस्या देखिएको छ । प्राकृतिक रूपमा पाकेको फलफूलले शरीरलाई फाइदा पुर्‍याउँछ । व्यावसायिक उद्देश्यका लागि फलफूल छिटो पकाउन उपयोग गरिने रसायन 'कार्बाइड'ले गर्दा यो फाइदाभन्दा हानिकारसिद्ध भएको हो ।


कार्बाइडको सहयोगमा कृत्रिम तरिकाले पकाइएका फलफूलको नियमित सेवनबाट मुखमा घाउ, ग्यास्टि्रक र कहिलेकाहीँ त 'फुड प्वाइजनिङ' समेत हुन सक्ने मेडिकेयर अस्पतालका पेट रोग विशेषज्ञ डा. प्रदीपकुमार यादव भन्छन्, 'कार्बाइडजस्तो धेरै प्रतिक्रियाशील रसायनको उपयोग गरी कृत्रिम तरिकाले पकाइएका पलफूलभन्दा प्राकृतिक रूपमा पाकेको नै राम्रो ।'


यसरी पकाइएका फलफूलको प्राकृतिक स्वाद र सुगन्धमा समेत कमी देखिन्छ । यस्तै यसमा प्राकृतिक रूपले पाकेको फलफूलभन्दा कम मात्रामा 'फुटक्रोज' र पौष्टिक तत्त्व हुन्छ । यस्ता फलफूलमा फास्फोरस र आर्सेनिकको अंशसमेत देखिन्छ ।


'क्याल्सियम कार्बाइडको उपयोग अत्यन्त खतरनाक छ,' रसायनशास्त्री डा. विनय झा भन्छन्, 'कार्बाइडमा आर्सेनिक, फास्फोरसको अंश हुन्छ र एसिटिलिन ग्यास 'एसिटलडिहाइड'मा परिवर्तन हुन्छ जसले क्यान्सर उत्पन्न गर्न सक्छ ।'


झाका अनुसार सब्जीमा हरियो रंग भने मेलेचाइट गि्रनको उपयोगले चढाइन्छ । मटर, करेला, परबल, हरियो खुर्सानी, पालक आदिमा यस्तो रंग उपयोग गरिन्छ ।


यदि फलफूलमा एकै नासको आकर्षक रंग देखियो, घरमा राखेको २/३ दिन पछि फलफूलको बोक्रामा कालो रंगको धब्बा देखियो भने  रसायन प्रयोग गरी पकाइएको आशंका गर्न सक्नुहुन्छ । केरालगायतका फलफूल पकाउन कार्बाइडको उपयोग मुलुकमा प्रतिबन्धित छ । क्याल्सियम कार्बाइड धेरै प्रतिक्रियात्मक  रसायन हो । प्रतिबन्धित भए पनि यो देशभरि उपयोग गरिन्छ ।


प्रकाशित मिति: २०६८ भाद्र २४ ०९:३८

के खाँदा के हुन्छ ?

भाद्र २३ -
शुद्घ पौस्टिक र कुनै पनि प्रकारको मिसावट मुक्त खाद्यपदार्थ मौलिक अधिकार भए पनि आमनेपालीले यो अधिकारको उपयोग गर्न सकिरहेका छैनन् ।

मिसावटले गर्दा आमनेपाली पैसा तिरेर दीर्घकालीन स्वास्थ्य समस्या किन्न बाध्य छन् ।

केही सातायता देखिएका विभिन्न घटनाले खाद्यपदार्थ सहित दैनिक उभोग्य सामानमा मिसावट चरममा पुगेको आभास दिन थालेको औंल्याउँदै मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरका शल्यचिकित्सा विभाग प्रमुख प्रा डा.भगवान् कोइराला भन्छन्, 'अन्य विभिन्न नकारात्मक प्रभावसँगै मिसावटी तेल, घ्यूको सेवनले रक्तनदीमा बोसो जम्ने समस्या देखिन्छ ।'

शुद्घ घ्यूसमेत धेरै मात्रामा उपयोग गर्नु हानिकारक हुने औंल्याउँदै डा. कोइराला भन्छन्, 'घ्यूमा पशुको बोसो मिसाउँदा यो स्वास्थ्यका लागि झनै हानिकारक हुन्छ ।'

डा.कोइराला खाद्यपदार्थको मिसावट र तेल आदिमा विभिन्न रसायनसहितका वस्तु हालिने स्थितिले 'लेड प्वाइजनिङ' सहित मुटु स्वास्थ्यमा अत्यन्त नकारात्मक प्रभाव पर्ने बताउँछन् । यस्ता मिसावटले हृदयाघातको आशंका बढ्नुको साथै व्यक्तिको बुद्घमित्ताको स्तरमा समेत प्रभाव पार्ने गर्छ ।

मिसावटले उत्पन्न विषाक्तताले शरीरका प्रमुख अंगमा प्रभाव पार्नुको साथै मृगौला फेल हुने सम्भावनासमेत बढाउँछ । 'नजानीकन नै हाम्रो शरीरमा खाद्यपदार्थमा मिसावटले विषाक्त पदार्थ गइरहेको छ,' राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक डा. ऋषिकुमार काफ्ले भन्छन्, 'यो विषाक्त पदार्थ शरीरमा जम्मा हुने वा मृगौला भएर बाहिर निस्कन खोज्ने हो ।' यस्तै सागसब्जीमा कीटनाशकको अत्यधिक उपयोगले गर्दा शरीरका विभिन्न अंगसहित मस्तिष्कमा प्रभाव परिरहेको छ ।

'मिसावटी खाद्यपदार्थ बेच्नेविरुद्घ कारबाही कम हुने गरेकाले पनि यस्ता प्रक्रियामा लागेकाहरूको हौसला बढिरहेको छ,' वीर अस्पताल, लिभर युनिटका प्रमुख प्रा.डा. अनिलकुमार मिश्र भन्छन्, 'वस्तुको उचित मूल्य तिरे पनि आमजनता दीर्घकालमा मिसावटले हुने शारीरिक समस्यासँग जुध्न बाध्य छन् ।'

उनी सरकारले आमनागरिकको ज्यानसँग खेलाची गर्ने खाद्यपदार्थमा मिसावट गर्नेलाई हदैसम्म सजायसंगै अनुगमन गर्ने निकाय बलियो हुनुपर्ने आवश्यकता औंल्याउँछन् ।

एक दशकयता मुलुकमा खाद्यपदार्थमा मिसावटको चर्चा परिचर्चाले गति पाए पनि अझै मिसावटबारे उपभोक्ताबीच जानकारी अभाव देखिएको छ ।

उपभोक्ताहरू शुद्घ खाद्यपदार्थको खोजीमा देखिए पनि क्रेताभन्दा बिक्रेताको बजार रहेकोले समेत मुलुकमा आमजनतालाई हम्मे परेको छ । शरीरको पोषण कायम राख्न हामीलाई दिनहँु खाद्यपदार्थको आवश्यकता हुन्छ, जसका लागि सामान्यतः एउटा परिवारले आपmनो आम्दानीको ५० प्रतिशत खर्चेेको हुन्छ ।

आहार विशेषज्ञ उषा साह मिसावटले नसर्ने रोग बढाइरहेको बताउँछिन । निरन्तर मिसावटयुक्त खाद्यपदार्थको उपयोगले मुटु, कलेजो, मृगौलालगायत अंगमा असर पर्नुका साथै क्यान्सरको जोखिमसमेत बढाउने उनी बनाउँछिन् ।

विज्ञहरूका अनुसार प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन, खनिज, लवण आदिलाई खानामा सामेल गर्न आवश्यक हुन्छ । यी सबै पोषकतत्त्व भने खाद्य सामग्रीबाट प्राप्त गर्न सकिन्छ । यो त्यतिखेर मात्र सम्भव हुन्छ, जब बजारमा पाइने दाल, अनाज, दूध, मसला, मिठाई, तेललगायत वस्तु मिसावटरहित होऊन् ।

'मिसावटले खाद्यपदार्थको गुणस्तरमा कमी ल्याउँछ किनभने यसमा सस्तो पदार्थ- जस्तो रंग आदि मिसाइन्छ । यसरी मिसाउँदा उत्पादन आकर्षक देखिनुको साथै बिक्री पनि बढ्छ । 'तर यसले खाद्यपदार्थको पोषकतत्त्व प्रभावित हुनुका साथै स्वास्थ्यका लागि हानिकारक हुन्छ,' खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी निर्देशक जीवनप्रभा लामा भन्छिन् ।

सबैजसो खाद्यपदार्थ, जस्तै गहँु, चामल, दाल, आँटा, दूध, मह, मसला, चियापत्ती, मेवा आदिमा यसरी मिसावट गरिन्छ कि मूल खाद्यपदार्थ र मिसावट भएको खाद्यपदार्थ छुट्टयाउन कठिन हुन्छ ।

मिसावटी सामग्री उपयोगले शरीरमा प्रतिकूल प्रभाव पर्छ र विभिन्न विकार उत्पन्न हुने सम्भावना बढ्छ ।

'मिसावटले गर्दा शरीरले पाउने मात्रामा पोषकतत्त्व समेत पाइँदैन,' लामा भन्छिन्, 'यति मात्र नभई मिसावटले अन्धोपन, पक्षाघात र ट्युमरजस्ता खतरनाक रोग हुन सक्छन् ।'

प्रत्येक उपभोक्ता मुख्य रूपमा गृहणीहरूलाई मिसावटी खाद्यपदार्थवाट बाँच्न जागरुक हुनु आवश्यक रहेको औंल्याउँदै लामा भन्छिन्, 'यसका लागि उपभोक्तहरूले खुल्ला सामग्री किन्नबाट बच्नुपर्छ ।' उनी सदैव सिल लगाइएको सामग्री मात्र किन्नुपर्ने बताउँछिन । यस्तै, सधैं मानक प्रमाण चिन्ह -स्टैन्डर्ड मार्क) लागेको सामान मात्र किन्नुका साथै गृहणीले सामग्रीको गुण, रंग शुद्घताबारे जानकारीसमेत राख्नुपर्छ ।

कुन खाद्यपदार्थमा कस्तो मिसावट ?

सबैभन्दा बढी मिसावट खाद्यान्न, दाल, मसलामा देखिने गरेको छ । यसमा स साना ढुंगा, बालुवा, काठको धुलो आदि मिसाइन्छ । यसले गर्दा आहार तन्त्रको रोगग्रस्त हुनुका साथै दात र आन्द्रा प्रभावित हुन्छ । यस्तै, चना र रहरको दालमा खेसारी लगायतका दाल मिसावटयुक्त हुन्छ । यसले पनि स्वास्थ्य प्रभावित हुन्छ अर्थात लैथिरससम्बन्धी रोग हुन्छ ।

सर्सियुँको तेलमा भने सबैभन्दा बढी आर्जिमोन तेलको मिसावट गरिन्छ । यसले आहारतन्त्र प्रभावित हुनुका साथै अनियन्त्रित ज्वरो अर्थात् एपेडिमिक ड्रप्सी हुन सक्छ । यस्तै सर्सियुँ तेल र रिफाइन्ड तेल बनाउनमा घटिया ब्रान्ड आयल र पाम आयल सँगै थुप्रै रसायन हालिन्छ, जसले मिसावटी तेलसमेत सर्सियुँ तेलजस्तै देखिन थाल्छ ।

बेसन र बेसारमा पहंेलो रंग मेटानिल मिसाइन्छ । यसले प्रजनन्तन्त्र प्रभावित हुनुको साथै पाचनतन्त्र, कलेजो र मृगौलासमेतमा प्रभाव पार्छ ।

रातो खुर्सानीमा भने रोडामाइन-बी मिसाइन्छ । यसले कलेजो मृगौला र फियो प्रभावित हुन्छ ।

प्रकाशित मिति: २०६८ भाद्र २४ ०९:३७