Friday, September 9, 2011

चम्किला फलफूल र तरकारी नछुनुस्

काठमाडौ, भाद्र २३ -
बजारमा बेच्न राखिएका तरकारी र फलफूल बढी नै हरियो, चम्किलो देखिएका सामान खरिद गर्दै हुनुहुन्न ? त्यसो गर्दै हुनुहुन्छ भने सावधान ।


मनै लोभ्याउने एकै नासको पहेंलो केरा, मेवा, अम्बा, आँप होऊन् या एकै नासले पहेलिएका भुइँकटहर अर्थात् आकर्षक रंगमा सजिएका फलफूल । किन्नु अगाडि एकपटक सोच्नुस्- 'यो आकर्षक रंग र ताजापन फलफूल र सागसब्जी नक्कली सिँगारिएका हुन सक्छन् ।'


तरकारी ताजा देखाउन र फलफूल छिटो पकाउन कृत्रिम रंगरोगन तथा रासायनिक ग्यासको व्यापक उपयोग भइरहेको छ । खेतबारीमा कीरा लाग्न नदिन प्रस्तावितभन्दा उच्च मात्रामा विषादीको प्रयोग र रासायनिक मलको अत्यधिक प्रयोगले समेत मानव स्वास्थ्यमा प्रतिकूल असर गर्दै छ ।


'फलफूल, तरकारीलाई आकर्षक बनाउन व्यापारीहरूले छिमेकी राष्ट्र भारतबाट अनेक नक्कली विधि सिकिरहेका छन,' काठमाडौंका एक  व्यापारी भन्छन्, 'नाफाका लागि जे पनि गर्न सकिने हालको प्रतिस्पर्धामा यो प्रक्रिया धेरै फैलिएको छ ।'


चिकित्सकहरू यस्ता प्रवृत्ति स्वास्थ्यका निम्ति खतराको सूचक ठान्छ्न् । 'कम उमेरका सकारात्मक जीवनशैली अपनाएका व्यक्तिलाई पनि मृगौलासम्बन्धी खराबी देखिन थालेको छ,' राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक डा.ऋषिकुमार काफ्ले भन्छन्, 'खाद्यपदार्थ, तरकारीलगायतका माध्यमबाट शरीरमा पुगेको विषाक्त पदार्थ मृगौला भएर निस्किन खोज्छ जसले समय अगावै यो अंगलाई नराम्रो क्षति पुर्‍याइरहेको छ ।'


उनका अनुसार, आममानिस खाद्यपदार्थ, सागसब्जीमा मिसावट, किटाणुनाशक, रासायनिक मलको अत्यधिक उपयोगले नजानीकनै आपनो शरीरमा विषाक्त पदार्थ सञ्चय गरिरहेका हुन्छन् जसको हरेक मुख्य अंगमा विस्तारै नराम्रो प्रभाव देखिन थाल्छ ।


विषादी उपयोग भएको फलफूल, सागसब्जीको उपयोगपछि शरीरको चिल्लो पदार्थमा अलिअलि जम्मा हुँदै जान्छ । 'यसरी जम्मा हुँदै गएको विषादीले क्यान्सर, कलेजो रोग, मृगौला रोग र मस्तिष्कमा असर पार्दै लान्छ र अन्तमा मृत्युसमेत हुने सम्भावना हुन्छ,' खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामा भन्छिन् ।


कृषि विशेषज्ञको प्रत्यक्ष निगरानीमा विषादीको प्रयोगसँगै कृषकहरूले विषादीमा कोरिएका विभिन्न रंगको नक्साअनुसार विषादी छरेको निश्चित दिनसम्म फलफूल, सागसब्जी आफ्नो उपयोगका लागि वा बजार पठाउनु हुँदैन । लामाका अनुसार विषादी छरेको तीनदेखि २१ दिनपछि मात्र फलफूल, सागसब्जी खान योग्य हुने गरेको छ ।


तर तरकारी व्यापारीहरू र किसानले यो नियम पालना गर्ने गरेका छैनन् । विषादी छरेलगत्तै समेत सागसब्जी बजार पठाउने गरिएको छ । 


गुण नियन्त्रण विभागले हालै गरेको 'टोटल डाइट स्टडी' अन्तर्गत मुलुकका विभिन्न भागबाट खाद्य पदार्थहरू ल्याई त्यसलाई परम्परागत तरिकाले पकाएपछि देखिएको विषादीको मात्राको अनुसन्धान गरेको छ । लामाका अनुसार यो अध्ययनमा मुलुकभरि धेरै प्रकारका विषादी प्रयोग गरिएको पाइएको छ । तर विषादीको मात्रा भने कम देखिए पनि विश्वमा प्रतिबन्धित रहेको केही विषादी अझै मुलुकमा उपयोग भइरहेको स्थिति भने भयावह छ ।


यति मात्र नभई लौका, फर्सीजस्ता सब्जीको आकार बढाउन आक्सिटोसिनको सियो प्रयोगले थप समस्या उत्पन्न गरेको छ । 'केही अघिसम्म यो समस्या भारतीय क्षेत्रमा देखिए पनि अब अन्य मुलुुकमा समेत देखिन थालेको छ,' कृषि मन्त्रालयका एक अधिकृतले भने, 'सँगै भारतबाट भित्रिने गरेका तरकारीमा यो समस्या छँदै छ ।' अक्सिटोसिन एउटा हार्मोनसम्बन्धी सियो हो जसको उपयोग पशुबाट बलजपmती बढी दूध निकाल्न गरिन्छ ।


विज्ञहरूका अनुसार सब्जीको आकार बढाउन र गाईभैंसीको दूध निकाल्न आक्सिटोसिनको उपयोग अत्यन्त घातक छ । यसको हानिकारक असर प्रत्यक्ष रूपमा प्रजनन्तन्त्रमा पर्ने गरेको छ ।


यस्तै फलफूल पकाउन कार्बाइडको प्रयोगले थप समस्या देखिएको छ । प्राकृतिक रूपमा पाकेको फलफूलले शरीरलाई फाइदा पुर्‍याउँछ । व्यावसायिक उद्देश्यका लागि फलफूल छिटो पकाउन उपयोग गरिने रसायन 'कार्बाइड'ले गर्दा यो फाइदाभन्दा हानिकारसिद्ध भएको हो ।


कार्बाइडको सहयोगमा कृत्रिम तरिकाले पकाइएका फलफूलको नियमित सेवनबाट मुखमा घाउ, ग्यास्टि्रक र कहिलेकाहीँ त 'फुड प्वाइजनिङ' समेत हुन सक्ने मेडिकेयर अस्पतालका पेट रोग विशेषज्ञ डा. प्रदीपकुमार यादव भन्छन्, 'कार्बाइडजस्तो धेरै प्रतिक्रियाशील रसायनको उपयोग गरी कृत्रिम तरिकाले पकाइएका पलफूलभन्दा प्राकृतिक रूपमा पाकेको नै राम्रो ।'


यसरी पकाइएका फलफूलको प्राकृतिक स्वाद र सुगन्धमा समेत कमी देखिन्छ । यस्तै यसमा प्राकृतिक रूपले पाकेको फलफूलभन्दा कम मात्रामा 'फुटक्रोज' र पौष्टिक तत्त्व हुन्छ । यस्ता फलफूलमा फास्फोरस र आर्सेनिकको अंशसमेत देखिन्छ ।


'क्याल्सियम कार्बाइडको उपयोग अत्यन्त खतरनाक छ,' रसायनशास्त्री डा. विनय झा भन्छन्, 'कार्बाइडमा आर्सेनिक, फास्फोरसको अंश हुन्छ र एसिटिलिन ग्यास 'एसिटलडिहाइड'मा परिवर्तन हुन्छ जसले क्यान्सर उत्पन्न गर्न सक्छ ।'


झाका अनुसार सब्जीमा हरियो रंग भने मेलेचाइट गि्रनको उपयोगले चढाइन्छ । मटर, करेला, परबल, हरियो खुर्सानी, पालक आदिमा यस्तो रंग उपयोग गरिन्छ ।


यदि फलफूलमा एकै नासको आकर्षक रंग देखियो, घरमा राखेको २/३ दिन पछि फलफूलको बोक्रामा कालो रंगको धब्बा देखियो भने  रसायन प्रयोग गरी पकाइएको आशंका गर्न सक्नुहुन्छ । केरालगायतका फलफूल पकाउन कार्बाइडको उपयोग मुलुकमा प्रतिबन्धित छ । क्याल्सियम कार्बाइड धेरै प्रतिक्रियात्मक  रसायन हो । प्रतिबन्धित भए पनि यो देशभरि उपयोग गरिन्छ ।


प्रकाशित मिति: २०६८ भाद्र २४ ०९:३८

No comments:

Post a Comment